बग्दाद । पर्सियन खाडीमा दुई वटा तेल ट्याङ्करमाथि आक्रमण भएपछि इराकले आफ्ना तेल टर्मिनलहरूको सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ।
जनरल कम्पनी फर इराकी पोर्ट्सका महानिर्देशक फरहान अल–फर्तौसीका अनुसार सुरक्षा जोखिम बढेपछि तेल टर्मिनलहरू बन्द गरिएको हो। उनले इराकी समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार तेल टर्मिनलहरू बन्द भए पनि देशका व्यावसायिक बन्दरगाहहरू भने सञ्चालनमै रहेका छन्।
आक्रमणमा परेका दुई तेल ट्याङ्कर पर्सियन खाडीमा आगलागी भएको अवस्थामा भेटिएका थिए। प्रारम्भिक जानकारीअनुसार विस्फोटक बोकेको इरानी पानी–ड्रोनले प्रहार गर्दा उक्त घटना भएको आशंका गरिएको छ। घटनामा एक जना चालकदल सदस्यको मृत्यु भएको छ भने अन्य ३८ जनालाई सुरक्षित उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
बुधबारयता मात्र पर्सियन खाडी क्षेत्रमा जहाजमाथि कम्तीमा ६ वटा आक्रमण भएको बताइएको छ। यसले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरूमध्यलाई युद्धको मुख्य केन्द्र बनाइरहेको देखिएको छ।
यस घटनाले इराकको सुरक्षा तथा अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी इराकको सरकारी तेल विपणन कम्पनी स्टेट अर्गनाइजेशन फर मार्केटिङ अफ आयल (एसओएमओ)ले दिएको छ।
