काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटीआर–७२ विमान (कल साइन 9N-AJO) लाई पूर्ण क्षमता सञ्चालनपछि औपचारिक रूपमा बिदाइ गरेको छ।
एटीआर–७२ विमानको अधिकतम उडान क्षमता ७२ हजार साइकल हुन्छ। ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ। उक्त विमान २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो। यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौंसम्म गरिएको थियो।
१६ वर्षको उडान अवधिमा यस विमानले २४ लाख ८२ हजार ७७२ यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ।
बिदाइ कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले उक्त विमानले नेपालको हवाई यात्रालाई सहज, कम खर्चिलो र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए। उनले एटीआर विमानको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान समेत कायम गरिएको उल्लेख गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता, उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण विमानलाई सुरक्षित रूपमा अन्तिम उडानसम्म सञ्चालन गर्न सम्भव भएको बताए।
एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीले पनि बुद्ध एयरसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै उक्त विमानले अन्तिम उडानसम्म सुरक्षित सेवा दिन सफल भएको बताए।
यसअघि बुद्ध एयरले एटीआर–४२ विमानलाई पनि १० सेप्टेम्बर २०२४ मा औपचारिक रूपमा बिदाइ गरेको थियो। हाल बुद्ध एयरले देशभित्र विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ भारतको वाराणसी र कोलकातामा सेवा सञ्चालन गर्दै आएको छ।
