सुर्खेत । सुर्खेतमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न चौतर्फी दबाब बढेको छ।
गत शनिबार वीरेन्द्रनगरस्थित सुर्खेत शहीद उद्यानको जनजागरण सामुदायिक वन क्षेत्रमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले स्थानीयवासी र विभिन्न संघ–संस्थालाई स्तब्ध बनाएको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै सुर्खेतका विभिन्न मानवअधिकार तथा सामाजिक संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्। मानव अधिकार रक्षक सञ्जाल कर्णाली, इन्सेक, दलित गैसस महासंघ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सीएमसी, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा संघ, दलित महिला संघ, सोसेक र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतलगायत संस्थाले घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जालमार्फत पीडित परिवारसँग भेट गर्दै घटनाको निष्पक्ष र कानूनी ढंगले छानबिन हुने तथा दोषीलाई कानुनअनुसार कारबाही गरिने विश्वास व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकामाथि जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी उक्त बालिकाको शव भने परिवारले अझै बुझेका छैनन्।
