काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तय भएको हो।
नेपाल इन्जिनियरिङ कलेजभित्र भएको अनियमितता मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको आरोप सार्वजनिक भएपछि महाअभियोगको दबाबबीच पाठकले पदबाट राजीनामा दिएका थिए। घुस लिएर पनि काम नभएपछि रकम दिएको समूहले घुस लेनदेनबारेको अडियो र भिडियो प्रमाण सार्वजनिक गरेको थियो।
कलेजको अनियमितता मिलाइदिने नाममा १ करोड ६० लाख रुपैयाँ घुसको सहमति भएको र त्यसको अग्रिम स्वरूप दुई चरणमा ७८ लाख रुपैयाँ दिइएको बताइएको छ। उक्त रकम पाठकसम्म पुर्याउने समूहले नै पछि अडियोसहितको प्रमाण अख्तियारमा बुझाएको थियो।
यस प्रकरणमा अख्तियारले तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले दुवैलाई ३–३ वर्ष कैद र ३९ लाख रुपैयाँका दरले जरिवाना गर्ने फैसला सुनाएको थियो।
यस्तै पाठकलाई थप ३ महिना कैद सजाय पनि तोकिएको थियो। विशेष अदालतले उनीहरूलाई भ्रष्टाचारको प्रयास गरेको ठहर गर्दै आधा सजाय मात्रै निर्धारण गरेपछि अख्तियारले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो।
