तेहरान । मध्यपूर्वमा जारी तनावका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको भन्दै क्षेत्रभरि चिन्ता बढेको छ। पछिल्ला केही घण्टामा बहराइनमा रहेका इन्धन भण्डारण ट्यांकीहरूमा आक्रमण भएको खबर आएको छ।
यसअघि बुधबार ओमानको सलालाह बन्दरगाह सहरमा रहेका इन्धन ट्यांकीहरूमा ड्रोन आक्रमण भएको थियो। सोही दिन हर्मुज जलडमरूमध्य क्षेत्रमा एउटा मालवाहक जहाज पनि निशाना बनाइएको बताइएको छ। उक्त घटनामा तीन जना नाविक अझै बेपत्ता रहेका छन् भने ओमानको शाही नौसेनाको तटरक्षक बलले २० जना नाविकलाई उद्धार गरेको जनाएको छ।
यो घटना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा जहाजलाई निशाना नबनाउन तथा समुद्रमा माइन नबिछ्याउन इरानलाई चेतावनी दिएको केही समयपछि भएको बताइएको छ।
इरानी पक्षले भने थाइल्याण्डको झण्डा बोकेको जहाजले आफ्ना आदेश बेवास्ता गरेको कारण त्यसलाई निशाना बनाइएको दाबी गरेको छ। साथै इरानले हर्मुज जलडमरूमध्य हुँदै गुड्ने सबै जहाजले आफ्नो अनुमति लिनुपर्ने चेतावनी पनि दिएको छ।
इरानले अमेरिका र उसका सहयोगी देशहरूलाई उक्त जलडमरूमध्य प्रयोग गर्न नदिने चेतावनी दिएको बताइएको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही साँघुरो समुद्री मार्गबाट हुने भएकाले त्यहाँको सुरक्षा अवस्थाले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने देखिएको छ।
मध्यपूर्वमा युद्ध चर्किँदै जाँदा विश्व बजारमा कच्चा तेलको मूल्यमा पनि तीव्र उतारचढाव देखिएको छ। बिहीबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढेर प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको बताइएको छ।
