काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।
निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले त्यसलाई शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको उल्लेख गरेका छन्।
ओलीले यस पटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको बताएका छन्। उनले सूर्य चिह्नमा मतदान गरेर पार्टीलाई साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
निर्वाचनको नतिजा पार्टीको पक्षमा नआए पनि जनताप्रतिको एमालेको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनले बताएका छन्। जनतामाझ रहेर काम गर्दै विश्वासको सम्बन्धलाई अझ बलियो बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
