मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन्।
प्रहरीचौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
घटनाका क्रममा प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौंडा उपमहानगरपालिका–१२ हात्तीगौंडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन्।
दुवै घाइतेको हेटौंडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित हेटौंडा–१२ हात्तीगौंडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
