काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूको सूची हेर्दा यस पटक युवा उम्मेदवारहरूको वर्चस्व र नयाँ दलहरूको बलियो उपस्थिति देखिएको छ।
कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त मतपरिणाम अनुसार यस पटक मतदाताले युवा नेतृत्वलाई प्राथमिकता दिएको देखिन्छ। प्रदेशबाट ४० वर्ष मुनिका १० जना युवा उम्मेदवार प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी २९ वर्षीया निशा डाँगी निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका अनुभवी नेता केशवराज पाण्डेलाई पराजित गर्दै प्रदेशकै सबैभन्दा कान्छो उमेरमा प्रत्यक्ष निर्वाचित हुने अवसर प्राप्त गरिन्।
डाँगीसँगै खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई पनि २९ वर्षकै उमेरमा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका देवविक्रम राईलाई पराजित गर्दै युवा प्रतिनिधित्वलाई बलियो बनाएका छन्। यी दुई प्रतिनिधि कोशी प्रदेशबाट निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद हुन्।
यस पटकको निर्वाचनमा प्रभावशाली तथा स्थापित नेताहरूलाई पराजित गर्ने युवाहरूको सूची पनि उल्लेखनीय देखिएको छ। मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी ३१ वर्षीया रुविना आचार्यले नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरिन्।
त्यस्तै, झापा–५ मा रास्वपाकै ३६ वर्षीय बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरे। झापा–३ मा ३७ वर्षीय प्रकाश पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई हराए।
अन्य क्षेत्रमा पनि युवाहरूको उपस्थिति उल्लेखनीय देखिएको छ। मोरङ–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ३४ वर्षीय सन्तोष राजवंशीले कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गरे। इलाम–१ मा कांग्रेसका ३५ वर्षीय निश्कल राईले श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूलाई हराए भने इलाम–२ मा एमालेका ३६ वर्षीय सुहाङ नेम्वाङले कांग्रेसका भेषराज आचार्यलाई पराजित गरे।
ताप्लेजुङबाट एमालेका ३८ वर्षीय क्षितिज थेवेले कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूलाई पराजित गरे भने सुनसरी–२ मा ३९ वर्षीय लालविक्रम थापाले कांग्रेसका राजीव कोइरालालाई हराए।
यसैगरी ४० देखि ५० वर्ष उमेर समूहका नेताहरूको पनि प्रतिनिधि सभामा उल्लेख्य उपस्थिति देखिएको छ। मोरङ–२ मा रास्वपाका ४० वर्षीय कृष्णकुमार कार्कीले एमालेका दिलीपकुमार अग्रवाललाई पराजित गरे भने मोरङ–३ मा सोही पार्टीका ४० वर्षीय गणेश कार्कीले कांग्रेसका सुनिलकुमार शर्मालाई हराए।
उदयपुर–१ मा ४० वर्षीय पारशमणि गेलाल, मोरङ–१ मा ४१ वर्षीय यज्ञमणि न्यौपाने, उदयपुर–२ मा ४१ वर्षीय सूर्यबहादुर तामाङ, मोरङ–५ मा ४२ वर्षीया आशा झा र सुनसरी–३ मा ४२ वर्षीय अशोक चौधरीले पनि आ–आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै जित हासिल गरेका छन्।
श्रम संस्कृति पार्टीका तर्फबाट सुनसरी–१ मा ४३ वर्षीय हर्कराज राई र भोजपुरमा ४३ वर्षीय ध्रुवराज राई विजयी भए। तेह्रथुममा कांग्रेसका ४८ वर्षीय सन्तोष सुब्बाले एमालेका भानुभक्त ढकाललाई पराजित गरे। त्यस्तै सुनसरी–४ मा ४९ वर्षीय दीपककुमार साह र झापा–४ मा ५० वर्षीय शम्भुप्रसाद ढकाल पनि विजयी भएका छन्।
यस निर्वाचनमा कोशी प्रदेशबाट प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेरमा विजयी हुने सांसद भने संखुवासभाका ६२ वर्षीय अर्जुनकुमार कार्की र सोलुखुम्बुका ६२ वर्षीय प्रकाश सिंह कार्की हुन्। एमालेका अर्जुनकुमारले रास्वपाका मिङ्मा शेर्पालाई पराजित गरे भने कांग्रेसका प्रकाश सिंहले नेकपाका अशिम राईलाई हराए।
५० वर्षभन्दा माथिको उमेर समूहमा पाँचथरबाट ५३ वर्षीय नरेन्द्रकुमार केरुङ, झापा–२ बाट ५५ वर्षीया इन्दिरा राना मगर, धनकुटाबाट ५९ वर्षीय राजेन्द्रकुमार राई र ओखलढुंगाबाट ५९ वर्षीय विश्वराज पोखरेल पनि निर्वाचित भएका छन्।
यस पटकको नतिजाले कोशी प्रदेशमा युवा नेतृत्वको उदय र नयाँ राजनीतिक शक्तिको विस्तार भएको संकेत गरेको विश्लेषण गरिएको छ।
