मध्यपूर्वमा बढ्दो तनावका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ केही सैन्य उपकरण मध्यपूर्वतर्फ सार्न सक्ने खबर सार्वजनिक भइरहेका बेला दक्षिण कोरियाले आफ्नो सुरक्षा क्षमतामा कुनै कमी नआउने दाबी गरेको छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले सम्भावित रूपमा केही अमेरिकी सैन्य उपकरण पुनःतैनाथ भए पनि उत्तर कोरियाबाट आउने सम्भावित खतरा रोक्ने क्षमतामा असर नपर्ने स्पष्ट पारेको हो।
हाल दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक स्थायी रूपमा तैनाथ छन्। उनीहरूसँग विभिन्न हवाई तथा मिसाइल रक्षा प्रणाली पनि रहेका छन्। अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले अमेरिकाले टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) प्रणालीका केही अंश दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने तयारी गरिरहेको समाचार सार्वजनिक गरेको थियो। इरानसँग बढ्दो तनावलाई ध्यानमा राख्दै यस्तो कदम चाल्न लागिएको अनुमान गरिएको छ।
यद्यपि दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त रिपोर्टको प्रत्यक्ष पुष्टि गर्न अस्वीकार गर्दै कोरियामा तैनाथ अमेरिकी सेनासँग अझै पनि पर्याप्त सैन्य क्षमता रहेको जनाएको छ। त्यसैले सीमित उपकरण स्थानान्तरण भए पनि समग्र सुरक्षा व्यवस्थामा ठूलो प्रभाव नपर्ने सियोलको भनाइ छ।
‘थाड’ प्रणाली छोटो, मध्यम तथा मध्यवर्ती दूरीका ब्यालेस्टिक मिसाइल अवरोध गर्न डिजाइन गरिएको आधुनिक रक्षा प्रणाली हो। ‘हिट–टु–किल’ प्रविधि प्रयोग गर्ने यो प्रणाली सन् २०१७ मा दक्षिण कोरियामा स्थापना गरिएको थियो, जसको चीनले त्यतिबेला कडा विरोध गरेको थियो।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भने अमेरिकी सैन्य सम्पत्ति सारिने खबरप्रति असन्तुष्टि जनाएका छन्। तर यस्तो विषयमा दक्षिण कोरियाको निर्णय क्षमता सीमित रहेको यथार्थ पनि उनले स्वीकार गरेका छन्।
यसैबीच सरकारी समाचार संस्था योन्हापका अनुसार सियोलबाट करिब २२० किलोमिटर दक्षिणमा रहेको सेओङ्गजु काउन्टीस्थित थाड ब्याट्रीका केही भाग हटाइएको वा भत्काइएको देखिने तस्बिर सार्वजनिक भएको छ।
राष्ट्रपति कार्यालयका एक अधिकारीले भने सैन्य सम्पत्ति पुनःतैनाथजस्ता संवेदनशील विषयमा सार्वजनिक टिप्पणी गर्न उपयुक्त नहुने बताएका छन्। यस्तो अनुमानित समाचारले राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा असर पार्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
