काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने तयारी संघीय संसद् सचिवालयले थालेको छ।
संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र सङ्घीय संसद् अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। तर विगतको अभ्यासअनुसार एक वा दुई हप्ताभित्रै बैठक बोलाइने सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
उनका अनुसार नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउन करिब १० दिनको समय दिइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएर अन्य सांसदलाई शपथ गराउनेछन्। सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले नै सभामुखको जिम्मेवारी सम्हाल्ने कानुनी व्यवस्था छ।
पहिलो बैठकले सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउनेछ भने त्यसपछि आवश्यक परे अध्यादेश संसद्मा पेस गरिनेछ।
