क्युबा। इन्धनको तीव्र अभावका कारण क्युबा गम्भीर मानवीय संकटतर्फ उन्मुख भएको भन्दै United Nations ले चिन्ता व्यक्त गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता Stéphane Dujarric का अनुसार इन्धन आयातमा समस्या आएपछि क्युबामा ऊर्जा सङ्कट गहिरिँदै गएको छ। यसका कारण स्वास्थ्य सेवा लगायत आधारभूत सेवाहरूमा गम्भीर असर परेको बताइएको छ।
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयका अनुसार अस्पतालहरूमा बारम्बार विद्युत् कटौती भइरहेको छ भने अत्यावश्यक औषधिको अभाव र चिकित्सा उपकरण सञ्चालनमा समस्या देखिएको छ। क्यान्सर उपचार, डायलिसिस सेवा, आकस्मिक उपचार तथा शिशु र मातृ स्वास्थ्य सेवासमेत प्रभावित भएका छन्।
ऊर्जा र स्रोतको अभावका कारण करिब १६ हजार क्यान्सर बिरामीलाई रेडियोथेरापी तथा १२ हजारभन्दा बढी बिरामीलाई केमोथेरापी उपचार उपलब्ध गराउन कठिन भइरहेको जनाइएको छ। इन्धन अभावकै कारण एम्बुलेन्स सेवा पनि प्रभावित हुँदा आकस्मिक उपचारमा ढिलाइ भइरहेको बताइएको छ।
त्यसैगरी झण्डै १० लाख मानिस ट्याङ्करबाट ल्याइने पानीमा निर्भर रहेका छन्। पानी पम्प गर्ने अधिकांश प्रणाली विद्युत्मा आधारित भएकाले ऊर्जा अभाव हुँदा पानी आपूर्ति सेवा पनि अवरुद्ध भइरहेको छ।
यसका साथै खाद्य आपूर्ति प्रणालीमा समेत असर परेको छ। उत्पादनदेखि भण्डारण र वितरणसम्मको प्रक्रियामा समस्या देखिएकाले देशभर आधारभूत खाद्य वस्तुको उपलब्धता घट्दै गएको बताइएको छ।
संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै क्युबामा आवश्यक मानवीय सहायता उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ।
