विराटनगर । विराटनगरमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका एक सई (प्रहरी नायव निरीक्षक) को मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत ४० वर्षीय मीनबहादुर बोहोराको दुर्घटनामा मृत्यु भएको हो।
बिहान करिब ७:३५ बजे विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। राजवंशी चोकबाट नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोटरसाइकल सई बोहोरा आफैंले चलाएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका बोहोरालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९ बजे उनको मृत्यु भएको डीएसपी लामिछानेले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन्। मध्यम अवस्थाका बस्नेतको नोबेल अस्पतालमै उपचार भइरहेको छ। प्रहरीका अनुसार उनी मृतक बोहोराका आफन्त हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा टोली खटाइएको डीएसपी लामिछानेले बताए।
