काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेकी छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित अनुसन्धान निकायलाई निर्देशन दिने तयारी भइरहेको छ।
प्रतिवेदन बुझेकै दिन प्रधानमन्त्री कार्कीले बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिह्नालगायतसँग छलफल गरेकी थिइन्। साथै केही कानुन व्यवसायीहरूसँग पनि परामर्श गरी प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढाउने तयारी गरिएको स्रोतले जनाएको छ।
आयोगको प्रतिवेदन सार्वजनिक गर्न विभिन्न पक्षबाट दबाब बढिरहे पनि प्रधानमन्त्री कार्कीले भने प्रतिवेदन सार्वजनिक नगरी सिधै कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेकी छन्। स्रोतका अनुसार अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दा त्यहाँ उल्लेखित दोषीहरूलाई उम्किने मौका मिल्ने जोखिम हुने भएकाले कार्यान्वयनमा जोड दिइएको हो।
बुधवार वा बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको छ। प्रधानमन्त्री कार्की सोमबार पदबाट बिदा हुने सम्भावना रहेकाले त्यसअघि नै जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे बुझाइएको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा लैजाने तयारी गरिएको बुझिएको छ। यसले आउने सरकारलाई पनि त्यसअनुसार काम अघि बढाउन दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले २४ फागुनमा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। जेन–जी आन्दोलनका क्रममा ५ असोजमा भएका घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले उक्त आयोग गठन गरेको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका थिए।
