काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२६ को उद्घाटन र फाइनल खेल दुवै लाहोरस्थित गद्दाफी स्टेडियममा हुने भएको छ। पछिल्ला पाँच वर्षमा चौथो पटक पीएसएलको फाइनल यही मैदानमा आयोजना हुन लागेको हो।
पीएसएलको ११औँ संस्करण आगामी मार्च २६ देखि मे ३ सम्म सञ्चालन हुनेछ। यस पटक प्रतियोगितामा पहिलो पटक आठ वटा टोली सहभागी हुनेछन्। खेलहरू पाकिस्तानका लाहोर, कराँची, रावलपिन्डी, मुल्तान, फैसलाबाद र पेशावरसहित ६ शहरमा आयोजना गरिनेछ।
टोलीहरूको संख्या बढेसँगै प्रतियोगिताको ढाँचामा पनि परिवर्तन गरिएको छ। यसपटक पहिलो पटक सबै टोलीले एक–अर्कासँग दुई–दुई पटक खेल्ने प्रणाली लागू नहुने बताइएको छ।
साविक विजेता लाहोर कलन्दर्सले पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जित्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम राख्दै आएको छ।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई इस्लामाबाद युनाइटेडले आफ्नो टोलीमा अनुबन्ध गरेको छ। पीएसएलमा उनको सहभागिताले नेपाली क्रिकेट समर्थकमा थप उत्साह बढाएको छ।
