काठमाडौँ । काठमाडौं उपत्यकालगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेपछि प्रहरीले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषणको मात्रा बढेकाले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आज सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए।
उनका अनुसार नेपाल प्रहरीले नागरिकका लागि ६ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गरेको छ। साथै सकेसम्म समूहमा यात्रा गर्ने वा एकअर्कालाई ‘लिफ्ट’ दिएर सवारीसाधनको प्रयोग कम गर्न पनि अनुरोध गरिएको छ।
प्रहरीले आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएका बेला बाहिरी गतिविधि नगर्न र वातावरण स्वच्छ राख्न सहयोग गर्न आग्रह गरेको छ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूले थप सावधानी अपनाउनुपर्ने उल्लेख गर्दै प्रहरीले अनिवार्य रूपमा मास्क प्रयोग गर्न सुझाव दिएको छ।
श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखिएमा नजिकैको अस्पताल, स्वास्थ्य संस्था वा चिकित्सकसँग तुरुन्त सम्पर्क गर्न पनि आग्रह गरिएको प्रवक्ता काफ्लेले बताए।
मौसममा आएको बदलीसँगै नेपालमा वायु प्रदूषणको मात्रा बढ्दै गएको छ। विशेषगरी उपत्यकालगायत सहरी क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले पनि यो समयमा स्वास्थ्यप्रति विशेष सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
