काठमाडौँ । जापान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई १ करोड २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ।
सार्क–जापान विशेष कोषअन्तर्गत विभिन्न कार्यक्रम कार्यान्वयनका लागि जापान सरकारले उक्त रकम उपलब्ध गराउन लागेको हो।
सार्क सचिवालयका अनुसार सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ। सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त कार्यक्रमले जापान र सार्क सदस्य राष्ट्रहरूबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
