काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले अब बन्ने सरकारले पुरानो औषधि ऐनमा आवश्यक संशोधन गर्न प्राथमिकता दिने बताएकी छन्।
मंगलबार काठमाडौँमा आयोजित ‘नेपाल फार्म एक्सपो तथा औषधिमा आत्मनिर्भरता : नीतिगत सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित कार्कीले ४७ वर्ष पुरानो औषधि ऐनका आधारमा आधुनिक र समयसापेक्ष चिकित्सा सेवा दिन कठिन हुने बताइन्।
उनले भनिन्, ‘आजभन्दा ४७ वर्ष पुरानो औषधि ऐन बोकेर अहिलेको समयसापेक्ष चिकित्सा सेवा दिन सकिन्छ भन्ने ग्यारेन्टी सरकारले गर्न सक्दैन। त्यसैले अब बन्ने सरकारले प्राथमिकतामा राखेर यो ऐनमा आवश्यक संशोधन गर्नेछ।’
कार्कीले स्वास्थ्य क्षेत्रका सामान्य विषयहरू पनि लामो समयसम्म समाधान हुन नसक्नुका पछाडि इच्छाशक्ति अभाव र अनैतिक प्रवृत्ति जिम्मेवार रहेको उल्लेख गरिन्। साथै रास्वपाको नेतृत्वमा बन्ने सरकारले स्वास्थ्य क्षेत्रमा सेवामुखी सरकारको भूमिका निर्वाह गर्ने दाबी पनि गरिन्।
उनले औषधिमा आत्मनिर्भरता केवल व्यवसायिक विषय मात्र नभई नागरिकको सुरक्षासँग जोडिएको संवेदनशील मुद्दा भएको बताइन्। प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्न पाउनुपर्ने भन्दै यसको सुनिश्चितता राज्यले गर्नुपर्नेमा उनले जोड दिइन्।
कार्कीका अनुसार औषधि उत्पादनका बेला मात्र गुणस्तर परीक्षण गरेर पुग्दैन, बिरामीले सेवन गर्ने अवस्थासम्म औषधिको गुणस्तर कायम छ वा छैन भन्ने विषयमा पनि निरन्तर निगरानी आवश्यक हुन्छ।
