काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले इलाम–१ र गोरखा–१ को मतगणना भइरहेको र त्यो सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक गरिने जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिले बाँकी रहेका इलाम–१ र गोरखा–१ को मतगणना सकिएपछि समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरिनेछ।
आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भइसकेको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित अग्रस्थानमा रहेको छ भने नेपाली कांग्रेस १७ लाख ४९ हजार ५८३ मतसहित दोस्रो स्थानमा रहेको छ।
यसैगरी नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत पाएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२, जनता समाजवादी पार्टीले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ५०१ तथा जनमत पार्टीले ७८ हजार ९७३ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको छ।
