काठमाडौँ । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउने तथा वायु गुणस्तर सुधार गर्ने उद्देश्यले ७ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ।
उक्त रकम ‘नेपाल क्लिन एयर एन्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालनका लागि स्वीकृत गरिएको विश्व बैंकको वाशिङ्टन डीसीस्थित प्रधान कार्यालयले जनाएको छ।
परियोजना विशेषगरी वायु प्रदूषणको जोखिम उच्च रहेको काठमाडौँ उपत्यका तथा तराईका केही क्षेत्रमा कार्यान्वयन गरिने बताइएको छ।
परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ।
विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग, वन तथा वातावरण मन्त्रालय तथा वातावरण विभागमार्फत कार्यान्वयन गरिनेछ।
