काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ सम्बन्धी प्रस्ताव पारित गरेको छ।
संयुक्त राष्ट्रसंघको महासभाले उक्त प्रस्ताव पारित गरेसँगै अब विश्वभर हरेक वर्ष अप्रिल १५ मा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ।
उनका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ।
राजदूत थापाले प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै यसलाई नेपालको महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन्।
