काठमाडौँ । उत्तर कोरियाले इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणको कडा आलोचना गरेको छ।
गत फेब्रुअरीको अन्तिम दिन अमेरिका र इजरायलले संयुक्त रूपमा सैन्य कारबाही गर्दै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित केही उच्च अधिकारीहरूको हत्या गरेको बताइएको छ। त्यसपछि इरानले जबाफी कारबाही गर्दै मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निशाना बनाएको जनाएको छ।
उत्तर कोरियाले आक्रमण भएको पहिलो दिनमै अमेरिकी कदमको निन्दा गरेको थियो। युद्ध सुरु भएको ११औँ दिनमा पनि उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्ताले पुनः उक्त हमलाको कडा आलोचना गरेका हुन्।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएलाई उद्धृत गर्दै प्रवक्ताले इरानलाई नयाँ सर्वोच्च नेता चयन गर्ने अधिकार रहेकोमा सम्मान जनाइएको उल्लेख गरेको जनाएको छ।
प्रवक्ताले ती आक्रमणहरूलाई अवैध सैन्य कारबाहीको संज्ञा दिँदै यसले क्षेत्रीय शान्ति भंग गर्नुका साथै विश्वव्यापी अस्थिरता बढाएको आरोप लगाएका छन्। साथै इरानको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप भएको भन्दै उत्तर कोरियाले चिन्ता व्यक्त गरेको छ।
उसले कुनै पनि देशको सरकार कमजोर बनाउने उद्देश्यले गरिने हस्तक्षेप स्वीकार्य नहुने चेतावनी पनि दिएको छ। नयाँ सर्वोच्च नेता विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट्स) मार्फत चयन हुने प्रक्रिया इरानी जनताको अधिकार भएको उत्तर कोरियाको धारणा छ।
सर्वोच्च नेता अली खामेनीको हत्या भएपछि इरानमा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको बताइएको छ।
