काठमाडौँ – कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन र उत्तर कोरियाबीचको अन्तर्राष्ट्रिय प्यासेन्जर रेल सेवा छ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। ट्राभल अपरेटरहरूका अनुसार यो सेवा बिहीबारदेखि पुनः सुरु गर्ने तयारी गरिएको छ।
बेइजिङ र डान्डोङस्थित आधिकारिक टिकट बुथसँग काम गर्ने ट्राभल एजेन्टहरूले दिएको जानकारीअनुसार प्रारम्भिक चरणमा रेल सेवा उत्तर कोरियामा काम गर्ने वा अध्ययन गर्ने चिनियाँ नागरिक तथा विदेशमा काम, अध्ययन वा परिवार भेटघाटका लागि यात्रा गर्ने उत्तर कोरियाली नागरिकका लागि खुला हुनेछ। हालका लागि भने पर्यटकहरूलाई टिकट खरिद गर्न अनुमति दिइने छैन।
उत्तर कोरियासम्बन्धी यात्रा सेवा प्रदान गर्ने कम्पनी Young Pioneer Toursका टुर म्यानेजर रोवान बियर्डले रेल सेवा पुनः सञ्चालन हुनु सकारात्मक संकेत भएको बताएका छन्। उनका अनुसार उत्तर कोरियाको भ्रमण व्यवस्थापनमा विशेषज्ञता राख्ने कम्पनीहरूले बिहीबारदेखि चल्ने रेलका टिकट बुकिङ गर्न सक्नेछन्।
उनले सुरुआती चरणमा सेवा पर्यटकका लागि खुला नभए पनि भविष्यमा उत्तर कोरियाको पर्यटन गतिविधि पुनः सुरु भएपछि रेल यात्रा उडान सेवाको विकल्पका रूपमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।
कोभिड–१९ महामारी फैलिन थालेपछि उत्तर कोरियाले कडा नियन्त्रण नीति अपनाउँदै सन् २०२० मा सीमापार आवागमन लगभग पूर्ण रूपमा बन्द गरेको थियो। त्यसै क्रममा चीन–उत्तर कोरियाबीचको रेल सेवा पनि स्थगित गरिएको थियो।
पछिल्लो समय भने उत्तर कोरियाले अन्तर्राष्ट्रिय आवागमन क्रमशः पुनः सुरु गर्दै आएको छ। गत वर्ष रुससँग प्रत्यक्ष उडान तथा रेल सेवा पुनः सञ्चालन गरिएको थियो। विशेष गरी रुस–युक्रेन युद्ध सुरु भएपछि मस्को र प्योङयाङबीचको सम्बन्ध अझ नजिकिँदै गएको पृष्ठभूमिमा यी यातायात सेवाहरू पुनः सुरु गरिएको बताइएको छ।
