काठमाडौँ – इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइल लागेर इजरायलमा थप एक जनाको मृत्यु भएको छ। सोमबार इरानले तेल अभिभ र आसपासका क्षेत्रमा गरेको मिसाइल आक्रमणमा परी एक व्यक्तिको ज्यान गएको इजरायली आपतकालीन उद्धार सेवा जाकाले जनाएको छ। यससँगै इरानको आक्रमणमा परी देशभर मृत्यु हुनेको संख्या १२ पुगेको छ।
जाकाका अनुसार इरानबाट प्रहार गरिएको मिसाइल तेल अभिभको दक्षिणतर्फ पर्ने येहुद क्षेत्रमा खसेको थियो। उक्त मिसाइल येहुदस्थित एक निर्माण स्थलमा खस्दा त्यहाँ काम गरिरहेका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते भएका अर्का एक व्यक्तिलाई अस्पताल लगिए पनि उपचारका क्रममा उनको पनि मृत्यु भएको उद्धार सेवाले जनाएको छ।
उक्त मिसाइलमा ‘क्लस्टर म्युनिसन’ प्रयोग गरिएको बताइएको छ, जसले एउटै मिसाइलबाट धेरै साना विस्फोटक फैलाएर एकैपटक विभिन्न स्थानमा ठूलो क्षति पुर्याउन सक्छ।
यसैबीच इजरायलका विभिन्न सहरमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएपछि सर्वसाधारणहरू सडक र राजमार्गमै सुरक्षित स्थान खोज्दै भागेको दृश्य देखिएको छ। यरुशलम र तेल अभिभ जोड्ने राजमार्गमा पनि आक्रमणको चेतावनीपछि मानिसहरू सडक किनार तथा सुरक्षात्मक स्थानतर्फ दौडिएको दृश्य सार्वजनिक भएको छ।
