कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ। बझाङको तलकोट गाउँपालिका–१ का ३३ वर्षीय प्रहरी जवान सन्देश चदारा कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट लडेर घाइते भएका थिए। सोमबार राति करिब साढे ११ बजे भएको उक्त घटनापछि उनलाई तत्काल टीकापुर प्रादेशिक अस्पताल पुर्याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई औपचारिक समयसीमा नतोकिए पनि तीन–चार दिनभित्र घटनाबारे सत्यतथ्य सार्वजनिक गर्ने गरी अनुसन्धान अघि बढाइएको डिएसपी तिमिल्सिनाले जानकारी दिए।
यसअघि मृतक प्रहरी जवान चदाराका परिवार तथा आफन्तहरूले घटनालाई शंकास्पद भन्दै निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका थिए। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।
