कैलालीको भजनी नगरपालिका–९ मा ५० वर्षीया मानादेवी चौधरीको हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन्। फागुन १९ गते होलीको दिन बिहान करिब साढे ६ बजेतिर उनीहरू बस्ने बाख्राको खोर रहेको गोठभित्र मानादेवीको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाको अनुसन्धानका क्रममा ५५ वर्षीय श्रीमान प्रेमलाल चौधरीले श्रीमतीको हत्या गरेको तथ्य खुलेको हो। घटनास्थलको प्रारम्भिक अनुसन्धानमा मृतकको अनुहार तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको थियो। इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदका अनुसार मदिरा सेवन गरेका प्रेमलालले सामान्य विवादका क्रममा श्रीमतीमाथि लाठीले कुटपिट गर्दा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनापछि २८ वर्षीय छोरा मगरु चौधरीले आफ्नै बुवाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले आरोपी प्रेमलाललाई नियन्त्रणमा लिएर ‘कर्तव्य ज्यान’ मुद्दाअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ।
