काठमाडौँमा रहेको जवाफदेहिता निगरानी समितिले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडिया र आम नागरिकले सूचना पाउने अधिकारको सम्मान गर्नुपर्ने बताए। समितिका संयोजक राजुप्रसाद चापागाईंले आज प्रेस विज्ञप्ति मार्फत प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने कुरा सरकारको विवेकाधिकारको विषय होइन। प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो। त्यसैले छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो।”
