सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका नाबालक छन्।
पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। तत्काल उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। इनिसा कक्षा ११ मा अध्ययनरत थिइन्।
मृतकका परिवारले दिएको उजुरी अनुसार इनिसा सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। घटना भएको दिन बिहान ६ बजे घरबाट ‘ट्युसन पढ्न जान्छु’ भन्दै निस्किएकी उनी सोही दिन ९ बजे सम्म घर फर्किनन्। आमाले खोज्दा फोन स्विच अफ थियो। केही समयपछि उनलाई शहीद पार्क नजिकको जङ्गलमा बेहोस अवस्थामा फेला पारिएको थियो। घटनास्थलमा पुगेका अन्य व्यक्तिले उनलाई अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरे।
प्रहरीका अनुसार फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोर पक्राउ गरिएको थियो। थप अनुसन्धानका लागि फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।
मृतकका आमा भन्छिन्, ‘छोरीको शरीरभरि निलडामा थिए, कपाल लुछिएको र चुरा फुटेका छन्। दुई–तीन मिटर माथिबाट घसारेको संकेत देखिन्छ। दोषीमाथि कडा कारबाही हुनुपर्छ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि निष्कर्षमा पुग्ने बताए।
