प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको निर्वाचन प्रहरीहरूले आफ्नो ४० दिनको कार्यकाल पूरा गरेका छन्। नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना, भने सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरीलाई सुरक्षा व्यवस्थाका लागि भर्ना गरेको थियो।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भइसकेको छ भने मतगणना पनि सार्वजनिक भइसकेको छ। यसैबीच निर्वाचन प्रहरीलाई फागुन २८ गते ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिने योजना रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले जानकारी दिएका छन्। सशस्त्र प्रहरी बलले पनि सोही दिन निर्वाचन सुरक्षामा खटिएका आफ्नो १५ हजार ११० जनालाई बिदाइ गर्ने तयारी गरेको छ।
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई ४० दिनको सेवा बदलीका रूपमा सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ। साथै उनीहरूले रासन र आउजाउका लागि ८४६ रुपैयाँ, र चार दिनको ड्युटीको खाजा खर्च दैनिक ३०० रुपैयाँको दरले उपलब्ध गराइएको छ। पोसाक बापत छुट्टै रकम छुट्याइएको प्रहरी प्रवक्ता काफ्लेले बताए।
दुईवटा सङ्गठनले कुल १ लाख ४९ हजार ९० जनालाई निर्वाचन सुरक्षामा परिचालन गरेको थियो। यसका लागि सुरक्षा निकायहरूले करिब ७ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेका छन्। नेपाल प्रहरीले मात्र करिब ७ अर्ब १३ करोड २५ लाख खर्च गरेको छ भने सशस्त्रले करिब ७० करोड खर्च गरेको जनाएको छ।
निर्वाचन ड्युटीमा खटिँदा ११ जना निर्वाचन प्रहरी र दुर्घटनामा परेर एक जना नेपाल प्रहरीका असईले ज्यान गुमाएका छन्। ड्युटीमा मृत्यु भएका प्रहरीका परिवारलाई सरकारले बिमा रकमको रूपमा २० लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ। डीआईजी काफ्लेले भने, ‘ड्युटीको क्रममा मृत्यु भएमा मृतकका आश्रित परिवारले बिमा रकम पाउँछन्।’
