तेहरान – मध्यपूर्वमा तनाव बढ्दै गर्दा इरानको शक्तिशाली सैन्य संगठन रेभोलुसनरी गार्ड्सले अमेरिका र इजरायलको आक्रमण नरोके तेलको निर्यात पूर्ण रूपमा रोक्ने चेतावनी दिएको छ।
इरानको चेतावनी विशेषगरी स्ट्रेट अफ होर्मुज जलमार्गलाई लक्षित गरिएको छ, जहाँबाट विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत भाग ओसारपसार हुने गर्छ। यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले तेलको प्रवाह रोक्ने प्रयास गरे अमेरिकाले अहिलेसम्मको आक्रमणभन्दा २० गुणा बढी शक्तिशाली प्रतिकार गर्ने चेतावनी दिएका छन्। ट्रम्पले इरान र त्यसका सहयोगीलाई कहिल्यै फेरि तङ्ग्रिन नसक्ने गरी नष्ट गर्ने धम्की पनि दिएका छन्।
इरानी अधिकारीहरूले आफ्नो नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नियुक्तिपछि अमेरिका र इजरायलसामु नझुक्ने संकेत दिएका छन्। ट्रम्पको प्रतिवादलाई इरानी अधिकारीहरूले ‘बकवास’ भन्दै आफ्नो युद्ध र रणनीतिक निर्णय आफैं गर्ने बताएका छन्।
फेब्रुअरीको अन्त्यदेखि सुरु भएको आक्रमणमा हालसम्म कम्तीमा १,३३२ जना इरानी नागरिकको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन्। इजरायलले इरानको वर्तमान शासन ढाल्ने लक्ष्य राखेको छ भने अमेरिका इरानको आणविक कार्यक्रम र मिसाइल क्षमतामा असर पुर्याउने रणनीति लिएको छ। तर ट्रम्पले आफ्नो इच्छानुसारको सरकार इरानमा नबनेसम्म युद्ध नरोकिने स्पष्ट पारेका छन्।
