कञ्चनपुर । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने राना थारू समुदायले आज आफ्नो परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होली औपचारिक रूपमा बिदाइ गरेका छन्। झन्डै एक महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा मनाइने होली पर्व खखडेहरा पर्वसँगै समाप्त हुने परम्परा रहेको छ।
राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्व मात्र होइन, सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइन्छ। यो पर्व समुदायमा सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थाको प्रतीक पनि मानिन्छ।
माघ शुक्ल पूर्णिमादेखि सुरू हुने होली पर्वको प्रारम्भ ‘होरी’ राखेर गरिन्छ। त्यसपछि झन्डै एक महिनासम्म रातको समयमा मात्र होली खेलिने चलन छ, जसलाई समुदायमा ‘जिउँदो होली’ भनिन्छ। यस अवधिमा महिला र पुरुष रातभरि पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथालाई गीतमा प्रस्तुत गर्ने गर्छन्।
फागुन पूर्णिमाको दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ। होलिका दहनपछि अर्को दिन ‘टीका’ पर्व मनाइन्छ, जसमा बाँकी रहेको होलीको खरानीको टीका लगाउने चलन छ। स्थानीय विश्वासअनुसार यसले रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने र दीर्घायु प्राप्त हुने विश्वास गरिएको छ।
टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेलिने चलन छ। आठौँ दिन खखडेहरा पर्व मनाइन्छ, जसलाई होलीको औपचारिक समापन मानिन्छ। पर्वको दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ। गाउँका अगुवा, भलमन्सा, चाकर र अन्य जिम्मेवार व्यक्तिहरूले घरघरबाट पूजा सामग्री सङ्कलन गर्ने गर्छन्।
सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा सम्पन्न गरिन्छ। पूजा पछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो र अन्य सामग्री फुटाउने चलन छ। यस कार्यले गाउँबाट नकारात्मक शक्ति हटाउने प्रतीकात्मक अर्थ राख्दछ।
खखडेहरा पर्वको अर्को महत्त्वपूर्ण पक्ष ‘फगुवा’ माग्ने परम्परा हो। गाउँका युवा र अगुवाहरू घरघरमा पुगेर नगद, अन्न वा अन्य सामग्री माग्ने र त्यसबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ।
साँझपख गाउँ उत्सवमय वातावरणले भरिन्छ। महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृङ्गारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने गर्छन्। स्थानीय विश्वासअनुसार पर्वमा गरिने पूजा र अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास गरिएको छ।
नेपाल राना थारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष कृपाराम रानाका अनुसार खखडेहरा पर्व राना थारू समुदायको सांस्कृतिक जीवनमा अत्यन्त महत्वपूर्ण पर्व हो। पर्वका दिन खेतीपाती र गोरुगाडा चलाउने काम समेत रोक्ने परम्परा छ। यसले सामाजिक एकता कायम राख्न, प्राकृतिक विपत्तिसँग जुध्न र समुदायको मौलिक संस्कृति जोगाउन भूमिका खेलेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ।
