मध्यपूर्वमा युद्धका कारण ५७ हजार नेपालीले अनलाइन विवरण दर्ता गराए, सुरक्षा र रेमिट्यान्समा चिन्ता
काठमाडौँ । मध्यपूर्वमा विकसित घटनाक्रमका कारण नेपाल सरकारले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५७,१०० नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।
परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले नेपाली नागरिकहरूको अद्यावधिक विवरण सङ्कलनका लागि सुरु गरेको यो प्रणालीमा हिजो बेलुकीसम्म उक्त संख्या पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्राप्त विवरणको अध्ययन गरी आवश्यकताअनुसार थप कदम चाल्ने बताएको छ।
मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहल जारी राखेको जनाएको छ। अति आवश्यक परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहने नेपालीहरूले आफ्नो राहदानी र भिसाको फोटोकपीसहितको ट्राभल योजना विवरण सम्बन्धित देशका नेपाली नियोगमा पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ।
कुनै समस्या वा आपतकालीन अवस्था आएमा मन्त्रालयको इमर्जेन्सी कन्ट्रोल रूम वा सम्बन्धित देशका नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क माध्यममार्फत तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।
मध्यपूर्वमा जारी युद्धको कारण नेपालका लागि रेमिट्यान्स आप्रवाहमा पनि असर पर्ने चिन्ता बढ्दैछ। रेमिट्यान्सको करिब ४० प्रतिशत हिस्सा मध्यपूर्व क्षेत्रबाट आउने गर्छ। राष्ट्र बैंकका अनुसार पुस महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। युद्धका कारण आगामी दिनमा यो प्रवाह प्रभावित हुन सक्ने र त्यहाँ कार्यरत झन्डै १८ लाख नेपाली श्रमिकको सुरक्षा जोखिममा पर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, बहराइन, इराक, ओमान, साइप्रसलगायतका देशमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत छन्। युद्धका कारण उनीहरूको सुरक्षा र रोजगारीमा थप चुनौती आउन सक्ने चेतावनी दिइएको छ।
