काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले प्राविधिक रूपमा चुनावमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन्।
अध्यक्ष घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार चुनावको समीक्षा गर्दै परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना दिएका छन्। उनले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने प्रष्ट पारेका छन्।
घिसिङले लामो स्टाटसमा देशको वर्तमान प्रशासनिक र विकास प्रणालीको आलोचना गर्दै भने, एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले देशको विकास रोकिरहेको छ। “हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो,” उनले लेखेका छन्।
अध्यक्ष घिसिङले आफ्नो पार्टी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको उल्लेख गर्दै विगतका उपलब्धिहरू प्रस्तुत गरेका छन्। लोडसेडिङ अन्त्य, घरधुरीमा विद्युतीकरण बढाउनु, नेपाललाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बनाउनु, बञ्चरेडाँडाको फोहोर व्यवस्थापन सुधार्नु, मेलम्ची खानेपानी सुचारु गर्नु, तातोपानी नाका खुलाउनु र अलपत्र आयोजनाका ठेक्का तोड्नु जस्ता उपलब्धिहरू उनले स्मरण गराएका छन्।
विषम परिस्थितिका बीच चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री, सुरक्षा निकाय र मतदातालाई धन्यवाद दिँदै घिसिङले छोटो समयमै जनताले दिएको माया र सद्भाव आफ्नो लागि ठूलो ऊर्जा भएको बताएका छन्।
निर्वाचन परिणामले आफू निराश नभएको भन्दै उनले “उज्यालो नेपाल निर्माण” अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जेनजी आन्दोलनपछि आएको चुनावलाई उनी केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार र अकर्मण्यताविरुद्धको परिवर्तनको अवसरका रूपमा अर्थ्याएका छन्।
