काठमाडौँ । लेबनानमा बढ्दो सैन्य गतिविधि र हिंसात्मक घटनाका कारण पछिल्लो एक सातामै कम्तीमा ८३ बालबालिकाको ज्यान गएको छ भने २५४ जना घाइते भएका छन्। यसप्रति संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ।
युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेन्डरले सोमबार जारी गरेको वक्तव्यमा लेबनानमा बढ्दो द्वन्द्वले बालबालिकामाथि पर्ने प्रभाव अत्यन्तै चिन्ताजनक रहेको बताएका छन्। उनका अनुसार पछिल्लो सात दिनमा दैनिक औसत १० भन्दा बढी बालबालिकाको ज्यान गएको छ भने करिब ३६ जना घाइते भएका छन्।
युनिसेफका तथ्यांकअनुसार पछिल्ला २८ महिनामा लेबनानमा द्वन्द्वका कारण ३२९ बालबालिकाको मृत्यु भइसकेको छ भने १ हजार ६३२ जना घाइते भएका छन्। पछिल्ला ६ दिनमा बालबालिकाको मृत्यु २५ प्रतिशतले बढेकोले युनिसेफले यसलाई अत्यन्तै भयावह अवस्था भनेको छ।
“देशभर भइरहेका सैन्य आक्रमणका कारण बालबालिका भयावह दरमा मारिने र घाइते हुने क्रम जारी छ। परिवारहरू डरका कारण घर छोडेर भाग्न बाध्य छन् र हजारौं बालबालिका चिसो तथा भीडभाडयुक्त आश्रयस्थलमा रात बिताउन बाध्य भएका छन्,” बेइगबेन्डरले बताएका छन्।
युनिसेफका अनुसार द्वन्द्वका कारण लेबनानमा करिब ७ लाख मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख बालबालिका रहेका छन्। संस्थाले सबै पक्षलाई नागरिक र नागरिक संरचनाको सुरक्षा गर्न आग्रह गर्दै विद्यालय, आश्रयस्थल र अन्य नागरिक संरचनालाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनाको आह्वान गरेको छ।
पश्चिम एशियामा इरान, अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनावका कारण क्षेत्रीय द्वन्द्व चर्किएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त सैन्य आक्रमण गर्दा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि स्थिति अझ तनावपूर्ण बनेको थियो।
त्यसपछि इरानले प्रतिउत्तर स्वरूप विभिन्न अरब देशमा रहेका अमेरिकी सैन्य अड्डा र इजरायली लक्ष्यमा आक्रमण गरेको थियो। इजरायलले पनि इरानमाथि आक्रमण जारी राख्दै द्वन्द्वलाई लेबनानसम्म विस्तार गरेको र हिज्बुल्लाह तथा इरान समर्थित समूहलाई लक्षित गरी सैन्य कारबाही गरिरहेको छ।
