काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना सहकारी संस्थालाई गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न आग्रह गरेको छ। केही सहकारीहरूले विदेशी नागरिकलाई सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएपछि महानगरले यस्तो कार्य तत्काल रोक्न सबै सहकारीलाई निर्देशन दिएको हो। महानगरको आग्रह बेवास्ता भए कारबाही पनि गरिने तयारी गरिएको छ।
महानगरको सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेले लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई तुरुन्तै खारेजीको प्रक्रियामा नल्याउने बताएका छन्। उनका अनुसार प्रतिवेदन पेश नगरी खारेजी गर्दा बचतकर्ताको रकम हिनामिना हुने सम्भावना रहेको हुँदा पहिले प्रतिवेदन बुझाउने र त्यसपछि मात्र खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
महानगरले दुई महिनाअघि नै सूचना जारी गरी तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने तथा साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी दिइसकेको छ। हाल काठमाडौँ महानगरमा करिब एक हजार नौ सय सहकारी संस्था दर्ता छन्।

