कास्की । पोखरा महानगरपालिका–१९, अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई रङ्गेहात पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा फागुन २३ गते दिउँसो करिब साढे २ बजे छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवाको खालबाट नगद ९९ हजार ८ सय ५५ रुपैयाँ र एक बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा म्याद थप गरिएको छ।
यस घटनाका सम्बन्धमा अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।
