काठमाडौँ । काठमाडौँमा वायुको गुणस्तर निकै खराब अवस्थामा पुगेको छ। आज बिहान यहाँको वायु प्रदूषण ‘निकै अस्वस्थ’ तहमा पुगेको देखिएको छ।
स्विट्जरल्याण्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार समाचार तयार पार्दासम्म काठमाडौँको वायु गुणस्तर सूचकांक २०६ पुगेको छ। सामान्यतया वायु गुणस्तर सूचकांक १५० नाघेपछि अस्वस्थ मानिन्छ भने २०० भन्दा माथि पुगेमा ‘निकै अस्वस्थ’ स्तरमा पुग्ने मानिन्छ।
नेपाल सरकारले निर्धारण गरेको वायु गुणस्तर सूचकांकअनुसार ० देखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तह मानिन्छ।
हालको तथ्यांकअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको छ। पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बङ्गलादेशको ढाका रहेका छन्। ती दुवै सहरमा पनि वायु प्रदूषण निकै अस्वस्थ तह पार गरेको जनाइएको छ।
वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणबाट बच्न आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन्।
उनका अनुसार वायु प्रदूषणका कारण मुटु तथा रक्तनलीसम्बन्धी समस्या, फोक्सो रोग, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
