काठमाडौँ । Donald Trumpले Iranसँग जारी युद्ध चाँडै समाप्त हुन सक्ने संकेत दिनुभएको छ। तर अमेरिकाले अझ पर्याप्त जित हासिल नगरेको उल्लेख गर्दै अन्तिम विजय हासिल गर्ने लक्ष्य कायम रहेको पनि उहाँले बताउनुभएको बीबीसीले जनाएको छ।
ट्रम्पले इरानले मध्यपूर्वबाट हुने तेल ढुवानी अवरुद्ध गर्ने प्रयास गरेमा अमेरिकाले युद्धलाई अझ तीव्र बनाउने चेतावनी दिनुभएको छ। उहाँको यस्तो टिप्पणीपछि मङ्गलवार एशियाली बजारको प्रारम्भिक कारोबारमा विश्वव्यापी कच्चा तेलको मूल्य केही घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि सोमवार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ११५ अमेरिकी डलरसम्म पुगेको थियो। यद्यपि, मध्यपूर्वमा तनाव सुरु हुनुअघिको अवस्थाको तुलनामा अहिले पनि तेलको मूल्य झन्डै ३० प्रतिशतले बढी रहेको बताइएको छ।
यसैबीच इरानले महत्वपूर्ण समुद्री मार्ग Strait of Hormuz (हर्मुज जलडमरूमध्य) अवरुद्ध गर्न सक्ने चेतावनी दिएको छ। ट्रम्पले भने इरानले यस्तो कदम चालेमा थप सैन्य आक्रमण बढाइने स्पष्ट पार्नुभएको छ।
ऊर्जा बजारका विश्लेषकहरूका अनुसार यदि हर्मुज मार्ग लामो समयसम्म अवरुद्ध भयो भने मार्च महिनाको अन्त्यसम्ममा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० अमेरिकी डलरसम्म पुग्न सक्ने सम्भावना छ।
हर्मुज जलडमरूमध्यलाई विश्वव्यापी तेल तथा ग्यास आपूर्तिको सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ। दैनिक करिब २ करोड ब्यारेल तेल यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा आपूर्ति हुने गर्दछ। यो मार्ग पर्सियन खाडी र ओमान खाडीको बीचमा अवस्थित छ।
गत महिनाको अन्त्यतिर United States र Israelले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव अझै कायम रहेको छ।
