काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका कारण केही समयदेखि रोकिएको नियमित बजार अनुगमन पुनः सुरु गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन १७ वटा विभिन्न फर्ममा अनुगमन गरेको जनाएको छ।
विभागका अनुसार बजारमा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने, मूल्यसूचीको पालना गराउने र प्रचलित कानुन कार्यान्वयन गराउने उद्देश्यले अनुगमन सञ्चालन गरिएको हो। अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा मूल्यसूची, बिल–भौचर, म्याद गुज्रिएका वस्तु, भण्डारण अवस्था तथा आवश्यक कागजातबारे जाँच गरिएको थियो।
अनुगमनका क्रममा केही फर्ममा कैफियत भेटिएपछि विभागले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। त्यसमध्ये सुजल ट्रेडर्समा कागजातसम्बन्धी समस्या देखिएकाले व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
त्यस्तै, अनुगमन गरिएका अन्य १६ वटा फर्मलाई विभिन्न सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। ती फर्मलाई मूल्यसूची स्पष्ट राख्न, बिल अनिवार्य रूपमा प्रदान गर्न तथा मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न सचेत गराइएको छ।
विभागका अनुसार बजार अनुगमनमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिको समेत सहभागिता रहने गर्दछ। यसले बजारलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।
विभागले आगामी दिनमा पनि बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै उपभोक्ता ठगी तथा कालोबजारी नियन्त्रणका लागि नियमित रूपमा निरीक्षण जारी राख्ने जनाएको छ।
