काठमाडौँ । नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्न थालेको छ।
पार्टीका उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ सहित दोस्रो तथा तेस्रो तहका नेताहरूले निर्वाचन परिणामप्रति जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओली ले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने आवाज उठाउन थालेका हुन्।
उपाध्यक्ष पौडेलले निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत पार्टीभित्र व्यापक समीक्षा र रूपान्तरणको आवश्यकता औँल्याएका छन्। उनले पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
पार्टी स्रोतका अनुसार प्रारम्भिक मतपरिणामपछि बुटवल मा उपलब्ध केन्द्रीय सदस्य तथा प्रदेश–जिल्ला कमिटीका नेतासँग छलफल गर्दै पौडेलले वर्तमान अवस्थाबाट पार्टी अघि बढ्न नसक्ने र निर्वाचन परिणामको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने संकेत गरेका थिए।
उपाध्यक्ष गुरुङले पनि आफूनिकट नेतासँग अध्यक्ष ओलीले स्वेच्छिक रूपमा राजीनामा दिनुपर्ने धारणा व्यक्त गरेको बताइएको छ। ओलीले मार्गप्रशस्त नगरे नेतृत्व परिवर्तनका लागि थप कदम चाल्नुपर्ने चर्चा पनि पार्टीभित्र सुरु भएको छ।
यता उपमहासचिव योगेश भट्टराई ले निर्वाचन परिणामलाई जनताले पार्टीको नीति र नेतृत्वप्रति दिएको स्पष्ट सन्देशका रूपमा लिनुपर्ने बताएका छन्। उनले पार्टीभित्र व्यापक रूपान्तरणमार्फत जनसमर्थन पुनः प्राप्त गर्ने दिशामा बहस हुनुपर्ने बताएका छन्।
निर्वाचन परिणामपछि एमाले तेस्रो शक्तिमा सीमित भएको छ। अध्यक्ष ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी का नेता बालेन शाह सँग ४९ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।
प्रत्यक्षतर्फ हालसम्म एमालेले करिब आठ सिट जितेको छ भने समानुपातिकतर्फ पनि अघिल्लो निर्वाचनको तुलनामा मत उल्लेख्य रूपमा घटेको छ। कमजोर नतिजापछि पार्टीभित्र अध्यक्ष ओलीको नेतृत्वबारे गम्भीर समीक्षा र पुनर्गठनको बहस तीव्र हुँदै गएको नेताहरू बताउँछन्।
