सप्तरी । नेपाल प्रहरी ले आन्दोलनको मौका छोपी कारागारबाट फरार भएका एक कैदीलाई करिब ६ महिनापछि पक्राउ गरेको छ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा झुम्का कारागार, सुनसरी बाट फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी समिउल्लाह मिया पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले ४४ वर्षीय मियालाई कञ्चनपुर नगरपालिका–७ बलुवा टोल, सप्तरी मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो। ‘डोरला’ नामले समेत चिनिने मिया कञ्चनपुर–६ घोघनपुरका स्थायी बासिन्दा हुन्।
उनीलाई जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजाय सुनाएको थियो। झुम्का कारागारबाट फरार भएदेखि नै उनी प्रहरीको खोजी सूचीमा रहेका थिए।
प्रहरीले उनलाई आइतबार साँझ करिब साढे ७ बजे नियन्त्रणमा लिएको हो। पक्राउ परेका मियालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार पुनः झुम्का कारागार, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरी का प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरी ले जानकारी दिए।
