काठमाडौँ । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचन २०८२ बाट निर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समिति को हलमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रिय सभा का अध्यक्ष नारायणप्रसाद दाहाल ले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ। यसअनुसार गत फागुन २० गते १९ जना सांसदको कार्यकाल सकिएको थियो। तीमध्ये एक सिट सरकारको सिफारिसमा नेपालका राष्ट्रपति बाट मनोनयन हुने प्रावधान रहेकाले बाँकी १८ सिटका लागि माघ ११ गते निर्वाचन भएको थियो।
निर्वाचनबाट कोशी प्रदेश बाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन्।
त्यस्तै मधेस प्रदेश बाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा निर्वाचित भएका छन्।
बागमती प्रदेश बाट गीता देवकोटा र प्रेम दंगाल, गण्डकी प्रदेश बाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्।
यसैगरी लुम्बिनी प्रदेश बाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेश बाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेश बाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन्।
नवनिर्वाचित सांसदहरूले शपथ ग्रहणसँगै राष्ट्रिय सभामा आफ्नो कार्यकाल सुरु गरेका छन्।
