काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गरी फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सोमबार सर्वोच्च अदालत मा न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो। रिटको क्रम संख्या (झ) मा राखिएको छ।
युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मी सहित कानुनका विद्यार्थीहरू तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ले महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर गरेका हुन्।
गत पुस ३० गते सबिता भण्डारी नेतृत्वको महान्यायाधिवक्ता कार्यालय ले लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएको थियो। उक्त निर्णयपछि सम्बन्धित जिल्ला अदालतहरूमा निर्णयका लागि मुद्दा पेस हुने प्रक्रिया रहन्छ।
तर, यो विषयमा सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले कास्की जिल्ला अदालत र रूपन्देही जिल्ला अदालत ले पनि अहिलेसम्म अन्तिम निर्णय गरेका छैनन्। सर्वोच्चको निर्णयपछि मात्र ती अदालतहरूले निर्णय गर्ने अवस्था रहेको छ।
रिट निवेदकले महान्यायाधिवक्ताको उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै बदर गर्न माग गरेका छन्। साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कमजोर पार्ने खालका कुनै पनि कार्य नगर्न परमादेश जारी गर्न पनि माग गरिएको छ।
लामिछानेमाथि सहकारी ठगी प्रकरणमा कास्कीको सूर्यदर्शन सहकारी सम्बन्धी मुद्दासहित ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग दर्ता भएका थिए। पछि उनले अभियोग संशोधनको माग गर्दै महान्यायाधिवक्ता कार्यालय मा निवेदन दिएका थिए।
यसअघि उच्च अदालत बुटवल को तुलसीपुर इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार उनले रूपन्देही जिल्ला अदालतमा कुल ३ करोड ७४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
