काठमाडौँ । नेकपा एमाले का नेता गोकुल बास्कोटा ले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयपछि नेतृत्वप्रति तिखो टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी लोकप्रिय भएको भनिए पनि त्यो लोकप्रियता केही नेतामै सीमित भएको संकेत गरेका हुन्। शीर्ष नेतृत्वको नाम नलिइकन उनले पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
बास्कोटाले समयमै सुधार नगरे पार्टी पुरानो र अप्रासंगिक बन्न सक्ने चेतावनी पनि दिएका छन्। उनले पार्टीभित्र पुनरावलोकन, पुनर्विचार र संरचनागत सुधारको आवश्यकता औंल्याएका छन्।
फेसबुकमा उनले लेखेका छन्,
“नोस्टाल्जिक हुने गरी पार्टी जीवनका उकाली–ओरालीका फ्ल्यासब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन, रि–थिङ्क, रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमै भइहाल्छ। पिरामिड थियो, फुली थप्न सोली बनायौं। लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ। समयले सुधारेन भने डाइनोसर बनिएला क्यार्नु त ? डोन्ट वरी!”
प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले ले अपेक्षाकृत कमजोर नतिजा पाएपछि पार्टीभित्र नेतृत्व र रणनीतिबारे चर्चा बढिरहेको छ।
