काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ प्रत्यक्षभन्दा बढी मत प्राप्त गरेको छ। यसपटक प्राप्त मत २०७९ को २०८०/२०७९ प्रतिनिधिसभा निर्वाचन मा पाएको मतभन्दा झण्डै दोब्बर रहेको देखिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन जिल्ला क्षेत्र नम्बर ३ मा रास्वपाले समानुपातिकतर्फ ६० हजार ४० मत प्राप्त गरेको छ। २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा रास्वपाले २८ हजार ४०१ मत पाएको थियो। यसपटक प्रत्यक्षतर्फ भने सोबिता गौतम ५९ हजार २७७ मतसहित विजयी भएकी छन्।
त्यस्तै, क्षेत्र नम्बर २ मा रास्वपाले समानुपातिकतर्फ ५४ हजार ५०९ मत प्राप्त गरेको छ। २०७९ मा यहाँ रास्वपाले ३५ हजार ९ सय ४५ मत पाएको थियो। यसपटक प्रत्यक्षतर्फ रवि लामिछाने ५४ हजार ४०२ मतसहित निर्वाचित भएका छन्।
क्षेत्र नम्बर १ मा पनि रास्वपाले समानुपातिकतर्फ ५९ हजार २४३ मत पाएको छ। २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा ३४ हजार ६९१ मत पाएको थियो। प्रत्यक्षतर्फ भने हरि ढकाल ५८ हजार २०२ मतसहित विजयी भएका छन्।
चितवनका तीनवटै क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ कुल १ लाख ७३ हजार ७९२ मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा भने यी तीन क्षेत्रबाट रास्वपाले ९९ हजार ३७ मत मात्र पाएको थियो।
यता, यी तीनै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी ले भने २०७९ को तुलनामा समानुपातिकतर्फ कम मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ३ मा रास्वपाको प्रमुख प्रतिस्पर्धी मानिएको नेकपाले ४३ हजार ५५१ मत कम प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
