लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका कुल २६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ क्षेत्रमा सानदार जित हासिल गर्दै प्रदेशमा स्पष्ट वर्चस्व स्थापित गरेको छ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समान २/२ क्षेत्रमा जित हासिल गरेका छन् भने नेकपा (एमाले)ले भने एउटा मात्रै क्षेत्रमा जित निकाल्दै सीमित बनेको छ।
रास्वपाले रुपन्देहीका पाँचै क्षेत्र, दाङका तीनै क्षेत्र, गुल्मीका दुई क्षेत्र, नवलपरासी पश्चिमका दुई क्षेत्र र बर्दियाका दुई क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ। यसैगरी अर्घाखाँची, प्युठान र पाल्पाको एक/एक क्षेत्रमा तथा कपिलवस्तु र बाँकेका दुई/दुई क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ।
यता नेपाली कांग्रेसले पाल्पा र कपिलवस्तुका एक/एक क्षेत्रमा जित हात पारेको छ। नेकपाले रुकुम पूर्व र रोल्पामा विजय हासिल गरेको छ भने एमालेले बाँकेको एउटा मात्रै क्षेत्रमा जित निकाल्न सफल भएको छ।
रुपन्देहीका पाँचै क्षेत्रमा रास्वपाको क्लिन स्वीप
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा रास्वपाले सबै क्षेत्रमा जित हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ।
रुपन्देही–१ मा रास्वपाका महामन्त्री सुनिल लम्साल ५४ हजार ८४५ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर केसीले ११ हजार ९८२ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्ज्वल बोहराले ८ हजार ३०१ मत ल्याउँदा नेकपा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ९७ हजार २११ मत खसेको थियो।
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी भएका छन्। उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन्। खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा पौडेलले १२ हजार ८६१ मत मात्रै पाएका छन्। नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत ल्याएका छन्।
२०६४ सालदेखि लगातार जित निकाल्दै आएका विष्णु पौडेलले यसपटक भने फराकिलो मतान्तरसहित पराजय भोगेका छन्। यसअघि उनी संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा लगातार विजयी हुँदै आएका थिए।
रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरेका हुन्। थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा गुरुङले ८ हजार ४३५ मत मात्रै ल्याएका छन्। एमालेका बाशुदेव घिमिरेले ८ हजार २७८ मत प्राप्त गरेका छन्।
रुपन्देही–४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित भएका छन्। उनले २८ हजार ६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याएका छन्। नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत पाएका छन्।
