पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। प्रदूषणका कारण आकाश धमिलो भएको छ र घाम राम्रोसँग नपर्नुको साथै दृश्य क्षमता घटेको छ।
बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ, जसले गर्दा यातायात सञ्चालन र हवाई उडानमा सामान्य असर परेको छ। हावामा धुलोका कण र धुवाँको मात्रा बढेपछि सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहजता महसुस गरेका छन्।
वातावरण विभागका अनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ। लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावाको माध्यमबाट उपत्यकामा भित्रिएको हुँदा प्रदूषण ह्वात्तै बढेको मौसमविद्हरूले बताएका छन्।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरू लाई घरबाहिर ननिस्कन वा निस्कनै परे गुणस्तरीय मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।
तत्काल ठूलो वर्षा हुने वा तीव्र हावा चल्ने सम्भावना कम रहेकाले, आगामी केही दिनसम्म प्रदूषणको यो अवस्था कायम रहन सक्ने अनुमान गरिएको छ। सम्बन्धित निकायले अनावश्यक रूपमा सवारी साधन नचलाउन र फोहोर नजलाउन सर्वसाधारणलाई अपिल गरेको छ।
