काठमाडौँ: सर्लाही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सर्लाहीको कविलासी नगरपालिका–७ मा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। कविलासीतर्फ जाँदै गरेको बिआर ३० एपि २३१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
घाइते चालक २३ वर्षीय पपु साह (कविलासी नगरपालिका–८) लाई प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा घाइते अर्का एक जनालाई थप उपचारका लागि वीरगन्ज रिफर गरिएको छ।
यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–९, इनारपानी मा मोटरसाइकलको ठक्करबाट ८२ वर्षीया कौशिला माया गिरी को मृत्यु भएको छ। सिन्धुलीबाट दुधौलीतर्फ जाँदै गरेको प्र.१-०५-००१ प ९५५७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।
घाइते भएकी गिरीलाई तत्काल उपचारका लागि शुभस्वस्तिक अस्पताल, बर्दीबास पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भयो।
दुवै दुर्घटनासम्बन्धी प्रहरी अनुसन्धान जारी रहेको छ।
