काठमाडौं: सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ।
पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको बजारमा, थप १ प्रतिशत वृद्धिसँगै (समग्र ५ प्रतिशत वृद्धि) दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो। अब बजार ४० मिनेटपछि मात्र पुनः खुल्नेछ।
दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक २८४८ अंकमा पुगेको छ। यस बेलासम्म बजारमा १३५ अंक वृद्धि भएको छ भने कुल २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
चुनावपछि देशभरको मत परिणाम आउँदै गरेको अवस्थामा, हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ। यसले लगानीकर्ताको विश्वास बढाएको र बजारलाई सकारात्मक प्रभाव परेको विश्लेषकहरूले बताएका छन्।
कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेपछि बजारमा तीव्र उतार–चढाव देखा परेको थियो।
दोस्रो सर्किट ब्रेकपछि विभिन्न क्षेत्रको वृद्धि यस्तो रहेको छ:
बैंकिङ: ५.८२%
विकास बैंक: ४.७२%
फाइनान्स: ४.२८%
होटल तथा पर्यटन: ४.६८%
हाइड्रोपावर: ६.१७%
लगानी: ४.८९%
जीवन बीमा: ३.६७%
उत्पादन तथा प्रशोधन: ५.०३%
माइक्रोफाइनान्स: २.८६%
निर्जीवन बीमा: २.१०%
अन्य: ६.३८%
व्यापार: ३.९६%
