काठमाडौं: इरानमा अमेरिका र इसराइलको संयुक्त हमलापछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा सैय्यद मोज्तबा होसेनी खामेनी नयाँ सर्वोच्च नेता नियुक्त भएका छन्।
८८ जना धर्मगुरू रहेका विज्ञहरूको सभा (Assembly of Experts) ले आइतबार मतदानबाट मोज्तबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेता चयन गरेको हो। विज्ञहरूको सभाले जारी गरेको विज्ञप्तिमा नयाँ सर्वोच्च नेता नियुक्त गरिएको पुष्टि गरिएको छ।
अमेरिका र इसराइलसँग जारी युद्धको बीचमा गरिएको यो निर्णयले इरानमा कट्टरपन्थी शक्तिहरूको पकड अझै मजबुत भएको संकेत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था Reuters ले जनाएको छ।
सर्वोच्च नेताको पद इरानको सबैभन्दा शक्तिशाली पद मानिन्छ। यस पदमा रहने व्यक्तिसँग राज्यका सबै प्रमुख निर्णयमा अन्तिम अधिकार हुन्छ।
मोज्तबा खामेनी लामो समयदेखि इरानको सुरक्षा संरचना र आर्थिक सञ्जालभित्र प्रभावशाली व्यक्ति मानिन्छन्। आफ्ना पिता अली खामेनीको नेतृत्वमा रहेको शक्तिशाली संरचनाभित्र उनी पहिलेबाटै उत्तराधिकारीका रूपमा अग्रपंक्तिमा रहेको विश्लेषण गरिएको थियो।
Donald Trump ले इरानमा नयाँ सर्वोच्च नेता चयनमा अमेरिकाले भूमिका खेल्नु पर्ने बताएका थिए। ट्रम्पले जनतालाई स्वतन्त्र रूपमा स्वीकार्य नेतालाई चयन गर्न अपिल गरेका थिए र आवश्यक परे अमेरिका सहयोग गर्न तयार रहेको बताएका थिए।
एबिसी न्युजले ट्रम्पलाई मोज्तबा खामेनीको नेतृत्वमा के हुने भन्ने सोध्दा, ट्रम्पले “इरानको नयाँ नेतृत्व अमेरिकाले स्वीकार गर्नुपर्छ, नत्र नयाँ नेतृत्व टिक्दैन” भनेको उद्धृत गरिएको छ।
Times of Israel का अनुसार, इसराइलले नयाँ सर्वोच्च नेता चयन हुनु अघि नै जोसुकै नेता बने पनि उसलाई निशाना बनाइने चेतावनी दिएको थियो।
