जुम्ला: प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनऋषि धिताल ले चुनावी खर्चबाट बचेको रकम सामाजिक कार्यमा लगानी गर्दै उदाहरणीय पहल गरेका छन्।
उक्त रकम १ लाख ५० हजार रुपैयाँ उनले जुम्लाको सिञ्जा गाउँपालिका–१ स्थित जाँच गाउँमा विद्युत् मर्मतका लागि सहयोग गरेका छन्।
धितालले बताएअनुसार, चुनाव खर्च जुटाउन उनले किताब बेच्ने काम गरेका थिए। सङ्कलित रकममा चुनाव खर्चपछि बाँकी रहेको रकमलाई अनावश्यक खर्च गर्नुको सट्टा जनताको प्रत्यक्ष आवश्यकता पूरा हुने क्षेत्रमा प्रयोग गर्नु उचित ठानेका थिए।
केही हप्तादेखि जाँच गाउँमा विद्युत् आपूर्तिमा समस्या देखिएको थियो। गाउँको कुइरी मारे डापकान लघु जलविद्युत आयोजनाको विद्युत् गृहको इन्जिनमा समस्या आएको थियो। धितालले चुनावी खर्चबाट बचेको १ लाख ५० हजार रुपैयाँ उक्त इन्जिन मर्मतका लागि सहयोग दिएका हुन्।
गाउँका अध्यक्ष भक्त बहादुर नेपाल ले जानकारी दिएअनुसार, धितालले दिएको सहयोगले बिग्रिएका विद्युत् लाइन, तार तथा अन्य संरचना मर्मत गर्न मद्दत पुग्नेछ। उनका अनुसार हप्ता दिनदेखि इन्जिनमा समस्या देखिएपछि विद्युत् आपूर्ति प्रभावित भएको थियो।
अध्यक्ष हमाल का अनुसार, धितालको पहलले गाउँमा हप्ता दिनदेखि देखिएको विद्युत् समस्याको समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। चुनाव सकिएपछि पनि जनताको आवश्यकता र समस्या प्रति ध्यान दिएको भन्दै धितालको कार्यको प्रशंसा गर्न लायक रहेको उनले बताए।
धितालको सहयोगपछि विद्युत् सेवा नियमित हुन थालेकोले घरायसी कामकाज, बालबालिकाको पढाइ र साना व्यवसायमा परेको असर कम हुने विश्वास गरिएको छ।
